info@saps.org.np

समृद्ध परिवार, समाज रुपान्तरणको सपना | संयुक्त आवाज परिवर्तन समाजको चाहना !

३ भाद्र २०८३, बुधबार

लिङथेप चौतारो पुनःनिर्माण तथा समुद्घाटन भिडियो सहित हेर्नुहोस

ताप्लेजुङ जिल्लाको ऐतिहासिक भूगोल मिक्वाखोला क्षेत्रमा पर्ने मेरिङदेन गाउँपालिका वडा नं.–५, वरक गाउँमा अवस्थित करिब १६ औं शताब्दिमा निर्माण भएको ‘नुगेयुङमा’ चौतारो पुनःनिर्माण कार्य सम्पन्न भएको छ । लिङथेप लिम्बूहरुकी चेली ‘नुगेयुङमा’को नाममा निर्मित सो चौतारो देशविदेशमा रहने लिङथेप चेलीहरुको पहलमा संकलित रु ९,९२,९७५।०० को लागतमा पुनःनिर्माण भई गत मार्ग २५ गते वरकको सोही चौतारोमा आयोजित एक भव्य कार्यक्रमका अवसरमा प्रदेश नं. १ का प्रदेश सभासद माननीय प्रताप हाङगाम ज्यूबाट समुद्घाटन भई लोकार्पण गरिएको छ ।

चौतारो उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रदेश सभासद माननीय प्रताप हाङगाम ज्यूले, ‘लिङथेप वंशले आफ्नो इतिहास खोज्ने क्रममा पुनः निर्माण गरिएको यो ‘नुगेयुङमा’ चौताराले प्रकाशन हुन लागिरहेको लिङथेप वंशावली लेखनमा एउटा पुरातात्विक र ऐतिहासिक महत्व राख्नेछ’ भन्नु भयो । त्यस्तै केदेम वंशावली लेखन समितिका अध्यक्ष दिलकुमार केदेमले– वरक गाउँमा लिङथेपहरुको ‘पिम्बुङ पाङयक’ अर्थात घरघडेरी, खेतबारीहरु समेत अद्यावधि रहेकाले उनिहरु सेरेङवंशी साङधुङगेका सन्तानहरु हुन् भन्ने स्पष्ट हुन्छ भन्नु भयो । स्थानीय बुद्धिजीवि जसमान केदेमले लिङथेपहरु मिक्वाखोलाकै भूमिपुत्र ठहरिएकाले सेरेङवंशी दाजुभाइ हुन् भन्नुमा कुनै द्विविधा नरहेको स्पष्ट पार्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै लिङथेप वंशावली लेखन समितिका अध्यक्ष तथा लिम्बू इतिहासका अध्येता उत्तमकुमार लिङथेपले मिक्वाखोला क्षेत्रबाट पलायन भएका लिङथेपहरु सरेङवंशी लिम्बू भएकोले यस क्षेत्रका सगोत्री वंशहरुको साझा संगठन निर्माण गरी वैज्ञानिक पद्धतिबाट वंशावली लेख्न उत्साहित भएको बताउनु भयो ।

उक्त कार्यक्रमको अवसरमा लिङथेप चेलीहरुका तर्फबाट स्थानीय श्री महेन्द्र आधारभूत विद्यालय, वरकलाई रु ५०,५५५।०० को ‘नुगेयुङमा स्मृति छात्रवृति अक्षयकोष’को रकम प्रअ सुमित्रा तुम्बाहाङफेलाई हस्तान्तरण गरिएको थियो । त्यस्तै सो विद्यालयलाई ईन्द्रमाया लिङथेप लुम्फुङवा र कोपिला लिङथेप सुक्वाबाले लिङथेप चेली तथा माइतीहरुको तर्फबाट क्यानन ल्यापटप कम्प्युटर थान –१ समेत उपहार प्रदान गर्नु भएको थियो ।

सो कार्यक्रममा येवाहरुले ‘येवालाङ’, स्थानीय क्लबहरुका भाइबहिनीहरुले ‘केलाङ नाच’ प्रदर्शन गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुलाई मिठाई वितरण पछि चौतारा निर्माणमा सहभागी उत्कृष्ट डकर्मीहरु, येवा÷फेदाङमाहरु तथा केलाङ समूहहरुलाई पुस्कार प्रदान गरिएको थियो । दिवाभोज समेत आयोजना गरिएको उक्त पुनःनिर्मित चौतारो उद्घाटन कार्यक्रम श्री त्रिभुवन मावि, थुकिम्बाका शिक्षक खडक केदेमले संचालन गर्नुभएको थियो ।

Translate »