info@saps.org.np

समृद्ध परिवार, समाज रुपान्तरणको सपना | संयुक्त आवाज परिवर्तन समाजको चाहना !

२ भाद्र २०८३, मंगलवार

नेपाल विश्वाेकाे प्राचिनतम् देश

नेपाल : विश्वको प्राचीनतम् देश हाल, विश्वमानचित्रमा चिनको तिब्बतभन्दा दक्षिण र भारतभन्दा उत्तरमा अवस्थित, हिमालय पर्वतमालाको सगरमाथा शिखर रहेको देशको नाम नेपाल हो। यो देशको नाम नेपाल कसरी रहनगयो भन्ने कुरामा इतिहासकारबीच मतैक्य पाइदैन। नेपाल धेरै अघिदेखि नै तिब्बत र भारतबीचको ऊनको व्यापारिक केन्द्र रहिआएको र तिब्बती भाषामा ‘नेपाल’-को अर्थ ‘ऊनको घर’ हुनेहुनाले सोही आधारमा यो देशको नाम नेपाल रहनगएको हो भन्ने विचार कतिपय विद्वानको छ। त्यसै गरी, ‘ने’ नामका एकजना मुनिले उहिले यहाँको व्यवस्था मिलाईदिएकोले उनैको नामबाट अर्थात् ‘ने’-बाट पालित भएको आधारमा नेपाल नाम रहनगएको हो भन्ने विचार कतिपय विद्वानको देखिन्छ। आफ्ना ती विचारको पुष्टिमा विद्वानहरूले कुनै पनि ठोस प्रमाण औँल्याउनसकेको देखिदैन। यो देशको नाम कहिलेदेखि र कसरी नेपाल रह्यो भन्ने कुरा इतिहासको विद्यार्थीको लागि अहिले पनि शोधकै विषय रहेको छ। यो ‘कहिलेदेखि’ र ‘कसरी’ भन्ने प्रश्नभको सोझै उत्तर दिन नसकिए पनि हिन्दूहरूमाझ राम्रै आदरप्राप्त एउटा निकै पुरानो ठानिएको संस्कृतको ग्रन्थ ‘महाभारत’-मा एउटा यस्तो प्रसँग छ जसबाट नेपाल नामको देशको अस्तित्त्व सो ग्रन्थको रचनाकालभन्दा पनि पहिलेदेखि नै रहेको प्रमाणित हुन्छ। सो प्रसँग यस्तो छ :

अथोत्तरां दिशं गत्वा वशे चक्रे नराधिपान् ।।४।। भगदत्तं च निर्जित्य राधेयो गिरिमारूहत् । हिमवन्तं महाशैलं युध्यमानश्च शत्रुभि: ।।५।। प्रययौ च दिश: सर्वान् नृपतीन् वशमानयत् । स हैमवतिकाञ्जित्वा करं सर्वानदापयत् ।।६।। नेपालविषये ये च राजानस्तानवाजयत् । अवतीर्य तत: शैलात् पूर्वां दिशमभिद्रुत: ।।७।। अङ्गान् वङ्गा:न् कलिङ्गाश्च शुण्डिकान् मिथिलानथ । मागधान् कर्कखण्डांश्च निवेष्य विषयाऽऽत्मन: ।।८।। (वनपर्वको घोषयात्रापर्व, ५४औँ अध्याय, महाभारत, दोस्रो खण्ड, पृ. १६६५, गीता प्रेस, गोरखपुर, दोस्रो स., वि.स. २०२३) यी पङ्क्तिहरूको भावार्थसार यस्तो हुन्छ:

‘त्यसपछि कर्णले उत्तर दिशामा गएर त्यहाँका राजाहरूलाई वशमा पारे। भगदत्तलाई जिती उनी युद्ध गर्दै हिमालयमा पुगे। त्यहाँबाट सबै दिशामा गएर उनले राजाहरूलाई वशमा पारे। उनले हिमालय प्रदेशका राजाहरूलाई जितेर उनीहरूबाट कर लिए। नेपालका राजालाई पनि जिते। त्यसपछि हिमालयबाट ओर्लिएर उनले पूर्वतर्फ धावा गरी अङ्ग, वङ्ग, कलिङ्ग, शुण्डिक, मिथिला, मगध र कर्कखण्डलाई आफ्नो राज्यमा गाभे।       क्रमस:

Translate »